काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले सडकमै पार्किङ गर्न पाउनुपर्छ भन्नेहरूले अहिले न्यूरोडमा फुटपाथ बढाउँदा विरोध गरिरहेको बताएका छन्।
मेयर शाहका अनुसार न्यूरोडमा तीन फिट फुटपाथ बढाउन लागिएको हो।
‘न्यूरोडमा जसले सडकमा पार्किङ गर्न पाउनुपर्छ भनेर आन्दोलन गरेका थिए, तिनैले अहिले तीन फिट फुटपाथ बढाउँदा विरोध गरिरहेका छन्,’ शुक्रबार मेयर शाहले सामाजिक सञ्जाल फेसबुकमा पोस्ट गरेका छन्, ‘सडकमा तीन फिटभन्दा बढी ढाकेर पार्किङ गर्दा सडक सानो भएर गाडी गुड्न साँघुरो नहुने तर त्यही पार्किङले ओगट्ने ठाउँ खाली गराएर फुटपाथ बनाउँदा सडकमा गाडी गुड्नै साँघुरो हुने कसरी हुन्छ?’
उनले सडक विभागले बनाएको मापदण्डअनुसार दैनिक एक लाख मानिस आवतजावत गर्ने सडक फुटपाथ कत्रो चाहिन्छ हेर्न पनि आग्रह गरेका छन्। सडक विभागले त्यो मापदण्ड पालना गर्न बनाएको हो कि होइन भन्ने पनि सोध्नुपर्ने उनको भनाइ छ।
उनले लेखेका छन् “एउटा रोचक कुरा कुरा पढ्नु हुन्छ ?
न्युरोडमा जसले सडकमा पार्किङ गर्न पाउनु पर्छ भनेर आन्दोलन गरेका थिए, तिनैले अहिले ३ फिट फुटपाथ बढाउँदा बिरोध गरिरहेका छन् । सोच्नु त, सडकमा ३ फिट भन्दा बढि ढाकेर पार्किङ गर्दा सडक सानो भएर न्युरोडको सडकमा गाडी कुद्न साँघुरो नहुने तर त्यहि पार्किङले ओगट्ने ठाउँ खाली गराएर फुटपाथ बनाउँदा सडकमा गाडी कुद्नै साँघुरो हुने कसरी हुन्छ ?
त्यस्तै, सडक विभागले बनाएको मापदण्ड अनुसार दैनिक एक लाख र बजारको सिजनमा ५ लाख हिड्ने सडकमा फुटपाथ कत्रो चाहिन्छ भन्ने मापदण्ड हेर्नुहोला । त्यो मापदण्ड पालना गर्नलाई बनाइएको हो कि होइन भन्ने सोध्नुहोला ।
प्रतिशोध लिने भए विकास रोक्नेहरूसँग लिउँ, कागजमा वैज्ञानिक कुरा लेखेर व्यवहारमा कमिसन बढाउन खोज्नेहरूसँग लिउँ, फुटपाथ बढाउन रोकियो भने अहिले यो गइहाल्छ, पछि फेरि पार्किङबाट कमाउन पाइन्छ भन्ने सोचेर न्युरोडलाई लथालिङ र अव्यवस्थित बनाउनेहरूसँग लिउँ ।
विकास गर्ने हो भने र बदलिदो समयमा न्युरोडलाई अझै व्यवसायीक, सुन्दर बनाउँन एकजुट बनौँ ।”
हेर्नुहोस् बालेन शाहको पोस्ट जस्ताको त्यस्तै