केराको रेसाबाट सेनेटरी प्याड र कपडा बनाउन सिक्दै महिला

म्याग्दीको बेनी नगरपालिका-२ ज्यामरुककोटका महिलाहरु केराको  थामबाट रेसा निकालि स्यानिटरी प्याड बनाउने सीप सिक्न थालेका छन् । आफ्नै घर, गाउँमा खेरा गैरहेका केराका थामलाई सदुपयोग गरी स्यानिटरी प्याड बनाउने अभियानलाई सफल बनाउन महिलाहरु तालिममा जुटेका हुन् । बेनी नगरपालिकाको ‘आमा समूहसँग उपमेयर’ कार्यक्रमअन्तर्गत ५२ जना महिलाले केराको थामबाट रेसा निकालेर सेनेटरी प्याड र कपडा बनाउने तालिम लिइरहेका छन् ।

बेनी नगरपालिका–२ खबरा र बगरफाँट गाउँ केराको पकेट क्षेत्र मानिन्छ । फल दिने समय सकिएपछि किसानलाई केराको थाम व्यवस्थापनमा झन्झट हुँदै आएको थियो । खेर गएको केराको थामबाट सेनेटरी प्याड बन्ने भएपछि किसानलाई पनि सहज हुने भएको छ ।

तालिमका प्रशिक्षक सन्दिप सापकोटाका अनुसार सेनेटरी प्याड बनाउन पहिलो चरणमा केराको थामलाई लामोरुपमा टुक्रा निकालेर सुकाइन्छ । दोस्रो चरणमा सुकेको टुक्रालाई मेसिनमा पेलेर फाइबर बनाइन्छ र फाइबरलाई ‘प्यूरीफाइ’ गरी सेनेटरी प्याड बनाइन्छ ।

तालिम लिएर समूह बनाई उद्योग सञ्चालन गर्ने तालिमका सहभागी उषा घिमिरेले बताइन् । “गाउँघरमा खेर गएको केराको थामबाट सेनेटरी प्याड बनाउन सकिने रहेछ । अब समूह बनाएर आवश्यकपर्ने मेसिन उपलब्ध गराउन नगरपालिकासँग अनुरोध गर्छौं”, उनले भनिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *