काबुल विमानस्थल सञ्चालनबारे सम्झौता अन्तिम चरणमा
२९ फागुन २०७८, आइतवार
२९ फागुन २०७८, आइतवार
काबुल, अफगानिस्तान, २९ फागुन-अफगानिस्तान, टर्की र कतारबीच काबुल विमानस्थल र देशका अन्य थुप्रै अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि सम्झौता अन्तिम चरणमा पुगेको छ । इस्लामिक इमिरेट्सका कार्यवाहक सूचना तथा संस्कृति मन्त्री खैरुल्लाह खैरख्वाले विमानस्थल सञ्चालनका लागि सम्झौता अन्तिम चरणमा पुगेको आइतबार बताउनुभएको टर्कीको सबाह दैनिकलाई उद्धृत गर्दै टोलोन्युजले उल्लेख गरेको छ ।
खैरख्वाले भन्नुभयो, “टर्की, कतार र अफगान सरकार एक सम्झौता नजिक पुगेका छन्, त्यसैले निकट भविष्यमा यसलाई अन्तिम रुप दिइने छ ।”अफगानिस्तानका प्रतिनिधि मण्डलले टर्की भ्रमण गरेर टर्कीका अधिकारीहरूसँग भेट गरेपछि विमानस्थल सञ्चालनका लागि भएका छलफल सकारात्मक मोडमा पुगेको देखिएको छ ।
दुवै पक्षले काबुल विमानस्थल सञ्चालन गर्ने र अफगानिस्तानका अन्य अन्तरराष्ट्रिय विमानस्थल सञ्चालनबारे लम्बिएको सम्झौताबारे छलफल गरेका थिए । शनिबार अफगानिस्तानका कार्यवाहक विदेशमन्त्री अमीर खान मुक्ताकीले टर्कीका विदेशमन्त्री मेव्लुत काबुसोग्लूसँग भेट गरी अफगान विमानस्थललगायत विभिन्न विषयमा छलफल गर्नुभएको थियो । टोलोन्युजका अनुसार दुवै पक्ष निकट भविष्यमा बाँकी रहेका विवाद समाधान गर्न सहमत भएका छन् ।
अफगानी विदेश मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै विमानस्थल सञ्चालन सम्बन्धमा भनेको छ, “दुवै पक्षले काबुल विमानस्थल र अन्य अफगानी अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनबारे छलफल गरेका थिए । थप छलफल गर्नुपर्ने सम्झौताको प्रावधानको मूल्यांकन गर्दै कतारलगायत दुवै देशले प्राविधिक छलफलमार्फत ्सकेसम्म छिटो उल्लेख्य समस्या समाधानको काम गर्ने वचन दिएका छन ।”
© 2022 Live Nepal News
Designed by : Global Studio