Monday, 02 October 2023
१५ असोज २०८०, सोमवार
राजनीति

मुख्यमन्त्री पोखरेलद्वारा शिवपञ्चायन मन्दिरको शिलान्यास

२८ फागुन २०७८, शनिवार

तनहुँ- तनहुँको व्यास नगरपालिका–७ कलेस्तीमा शिवपञ्चायन मन्दिर निर्माण हुने भएको छ । यस ठाउँलाई धार्मिक पर्यटकीयस्थल बनाउने उद्देश्यसहित मन्दिर निर्माण गर्न लागिएको हो । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले उक्त मन्दिरको शनिबार शिलान्यास गर्नुभयो । सो अवसरमा उहाँले गण्डकी प्रदेश धार्मिक हिसाबले निकै महत्वपूर्ण प्रदेश रहेको चर्चा गर्नुभयो । प्रदेशलाई धार्मिक पर्यटनको माध्यमबाट समृद्ध बनाउने सकिने भएकाले त्यसतर्फ सरकारको जोड रहेको उहाँले बताउनुभयो ।

प्रदेशभित्र धेरै धार्मिक सम्भावना बोकेका ठाउँ भएकाले त्यसको विकासका लागि सरकारले सहयोग गर्ने मुख्यमन्त्री पोखरेलले प्रतिबद्धता व्यक्त गर्नुभयो । “धर्मलाई पर्यटनसँग जोडेर अगाडि लैजान सकिए प्रदेशलाई समृद्ध बनाउन सकिन्छ, त्यसतर्फ सरकार लागिपरेको छ”, उहाँले भन्नुभयो ।

कार्यक्रममा गण्डकी प्रदेशसभा सदस्य सरिता गुरुङ, तत्कालीन् संविधानसभा सदस्य रामचन्द्र पोखरेल, व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेलगायतले वेदव्यासको जन्मभूमि दमौली र आसपासका क्षेत्रलाई धार्मिक पर्यटनको माध्यमबाट विकास गर्न सकिने धारणा व्यक्त गर्नुभयो ।