रुसी राष्ट्रपति भ्लादिमिर पुटिन आफ्नो साख जोगाउँन युद्धको समाधानको बाटो खोज्दै
४ चैत २०७८, शुक्रवार
४ चैत २०७८, शुक्रवार
रुसले युक्रेन माथि युद्द सुरु गरेको चौथो सातामा प्रवेश गरेको छ। विश्वमा सैन्य शक्तिका हिसाबले अग्रस्थानमा रहेको भनिएको रुसले युक्रेनलाई छोटो अवधिमा कब्जा गर्ने अनुमान गरिएको थियो।
तर युद्धमा रुसी सैनिकले रणनीतिक र प्राविधिक दुवै हिसाबले सफलता हासिल गर्न सकेका छैनन्। चौथो सातासम्म पनि रुसले युक्रेन हमलालाई निर्णायक विन्दुमा पुर्याउन सकेको छैन। युक्रेन हमलामा रुसी सैनिकको प्रदर्शन कमजोर देखिएको छ।
ठूलो संख्यामा रुसका लडाकु विमान, हेलिकोप्टर, ट्यांक र अन्य सैन्य उपकरण ध्वस्त भएको समाचार सार्वजनिक भइरहेका छन्। युक्रेनको रक्षा मन्त्रालयले भने समाचारमा आएभन्दा दोब्बर क्षति रुसतर्फ भएको दाबी गरेको छ। युक्रेनमा सोचेभन्दा बढी क्षति र युद्ध लम्बिँदै जाँदा रुसी राष्ट्रपति भ्लादिमिर पुटिन आफ्नो साख जोगाउँदै युद्धको समाधानको बाटो खोजिरहेका छन्।
त्यसका लागि उनी युक्रेन भविष्यमा कहिले पनि नेटोको सदस्य नबन्ने प्रतिबद्धता खोजिरहेका छन्। जुन हालै युक्रेनी राष्ट्रपतिले पनि घोषणा गरिसकेका छन्। जसले गर्दा वार्ता सकारात्मक हुने संकेत देखिएका पनि छन्।
तर वार्ताका बीचमा पनि रुसी आक्रमण जारी छ भने युक्रेनलाई पनि अमेरिकासहित पश्चिमा मुलुकले शक्तिशाली हतियार र आर्थिक सहयोगको घोषणा गरिरहेका छन्। जसले गर्दा युद्ध कति लामो समयसम्म चल्छ भनेर अनुमान गर्न सकिँदैन। त्यसैले पश्चिमा मुलुकमा यो युद्ध लामो समयसम्म लम्बिएर युक्रेन युरोपको अफगानिस्तान बन्ने त होइन भन्ने आशंका पनि उब्जिरहेको छ।
© 2022 Live Nepal News
Designed by : Global Studio