रुस-युक्रेन युद्दको कारण भारत संग किनिएको बिजुलीमा पनि असर पर्यो
३० फागुन २०७८, सोमवार
३० फागुन २०७८, सोमवार
युद्धयता बिजुलीको शुल्कमा ठूलो असर परिरहेको नेपाल विद्युत प्राधिकरणका प्रवक्ता सुरेशबहादुर भट्टराईले बताए।
'युद्धअगाडि बिजुलीको मूल्य औसत प्रतियुनिट दुई रूपैयाँ ७० पैसादेखि तीन रूपैयाँ हाराहारी थियो। अहिले आएर सात रूपैयाँ प्रतियुनिट पुगिसकेको छ। यसले प्राधिकरणलाई आर्थिक रूपमा असर पुर्याइरहेको छ,' उनले भने।
युद्धयता यस्तो शुल्क कहिले घट्ने त कहिले बढ्ने भइरहेको उनले बताए। विश्व बजारमा पेट्रोलियम पदार्थको भाउ उकालो लाग्ने क्रम बढेपछि विद्युतको माग बढेको र विश्वबजारमा बिजुलीको माग बढ्दा भारतबाट नेपालले खरिद गर्ने बिजुलीको मूल्य पनि बढेको उनको भनाइ छ।
'माग बढ्ने बित्तिकै मूल्य बढ्ने नै भयो। त्यसकारण अहिले बिजुलीको मूल्य बढेको छ। त्यसैको असर प्राधिकरणमा पनि परेको हो,' उनले भने। विद्युत कम उत्पादन हुने सुख्खा सिजनमा नेपालले भारतबाट नपुग बिजुली आयात गर्दै आएको छ।
प्राधिकरणका अनुसार हाल नेपालले भारतबाट दैनिक ११ हजार मेगावाट बिजुली आयात गर्दै आएको छ। नेपालले पनि भारतको खुला बजारमा बिजुली बिक्री गर्ने स्वीकृति पाइसकेको छ। भारतले सीमा वारपार विद्युत व्यापारसम्बन्धी नियम सच्याएपछि नेपालमा उत्पादित विद्युत भारत निर्यातको बाटो खुलेको हो।
नेपालले गत कात्तिकदेखि बिजुली बिक्री सुरू गरिसकेको छ। यसअघिको क्रसबोर्डर विद्युत आयात-निर्यातको गाइडलाइन (निर्देशिका) संशोधन गरेपछि भारतले छिमेकी मुलुकमा उत्पादित बिजुली किन्ने नीतिअगाडि सारेको हो।
© 2022 Live Nepal News
Designed by : Global Studio