Monday, 02 October 2023
१५ असोज २०८०, सोमवार
खेलकुद

दिक्तेल मेयर कप तेश्रो केएफए फुटबल प्रतियोगीता ११ चैतदेखि, खेल तालिका सार्वजनिक 

८ चैत २०७८, मङ्गलवार

खोटाङ - खोटाङको दिक्तेलमा सञ्चालन हुने दिक्तेल मेयर कप तेश्रो केएफए क्लव स्तरिय फुटबल प्रतियोगीताको खेल तालिका सार्वजनिक गरिएको छ । आयोजक खोटाङ फुटबल एकेडेमी (केएफए)ले आगामी ११ चैतदेखि १८ चैतसम्म सञ्चालन हुने प्रतियोगीताको खेल तालिका मंगलबार सार्वजनिक गरेको हो । 

‘स्थानीय खेलाडी र क्लवको पहिचान, खोटाङ एकेडेमीको अभियान’ भन्ने नारासहित दिक्तेलको माटिकोरे खेलमैदानमा सञ्चालन गरिने प्रतियोगीता दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर दिपनारायण रिजालले उद्घाटन गर्ने तय गरिएको छ ।

फुटबल प्रतियोगीता उद्घाटनकै अवशरमा दिक्तेलको माटिकोरेमा दिक्तेल रंगशाला शिलान्यास गर्ने कार्यक्रम रहेको एकेडेमीले जनाएको छ ।

स्थानीय फुटबल टिम र खेलाडीको प्रवद्र्धनका लागि आयोजना गरिएको प्रतियोगीतामा जिल्लाका १६ टिमको प्रतिष्पर्धा हुने प्रतियोगीताका इभेन्ट मेनेजर प्रशिक्षक रोशेस श्रेष्ठले बताए । 

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका मूख्य प्रायोजक रहेको प्रतियोगीताका विजेताले १ लाख २५ हजार, उपविजेताले ६५ हजार र सेमीफाइनलिष्टले २०/२० हजारका साथमा शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् । यस्तै, उत्कृष्ट गोल रक्षक, डिफेण्डर, मिड फिल्डर, गोलकर्ता र कोचलाई जनही ५ हजार नगद, ट्रफि, मेडल र प्रमाण–पत्र प्रदान गरिने छ । सर्वोत्कृष्ट खेलाडीलाई ७ हजार नगदका साथमा ट्रफि, मेडल, प्रमाण–पत्र तथा म्यानअफ द म्याचलाई नगद एक हजारका साथमा मेडल प्रदान गरिने आयोजकले जनाएको छ ।

प्रि–क्वाटरफाइनलमा विजयी हुने टिमलाई दुई हजार, क्वाटरफाईनल जित्नेलाई तीन हजार, सेमीफाइनल जित्नेलाई ३ हजार पाँच सय र फाइनल जित्नेलाई थप चार हजार प्रोत्साहन रकम प्रदान गरिने छ । 

जिल्ला खेलकुद विकास समितिमा दर्ता भएका आधिकारिक टिमलाई मात्र प्रतियोगीतामा सहभागी गराइएको छ । प्रतियोगीतामा सहभागीताका लागि टिम दर्ता भएको वडाको ६ जना र सम्वन्धित पालिकाको ४ जना खेलाडी अनिवार्य गरिएको छ । प्रत्येक टिमले जिल्लाभरीबाट तीन जना खेलाडीलाई आफ्नो टिममा समावेस गर्न पाउने छन् ।

नगरपालिकाका कर्मचारी र निर्माण व्यवसायीबचमा शोम्याच खेल हुनेछ भने डिफेन्डिङ च्याम्पियन युवा जागरण स्पोर्ट्स क्लब र बुइपा ११ बिच उद्घाटन खेल हुने प्रतियोगीताका संयोजक श्यामकुमार पौडेलले बताए । एकेडेमीले २०७४ साल र २०७७ सालमा फुटबल प्रतियोगीता सञ्चालन गरेको थियो । 

‘खेलकुदको अभियान खोटाङको पहिचान’ भन्ने नारा सहित २०७३ सालमा स्थापना भएको एकेडेमीले ‘फुटबल सवैका लागि’ भन्ने नारा सहित विभिन्न उमेर समुहका खेलाडीलाई सहभागी गराएर फुटबलको प्रशिक्षण सञ्चालन गर्दैआएको छ । फुटबललाई व्यवसायीकरण गर्दै व्यवसायीक खेलाडी उत्पादन गर्ने लक्ष्य बोकेको केएफएले एन्फासँगको साझेदारीमा ग्रासरुटको फुटबल प्रशिक्षण कार्यक्रमको जिम्मा पनि पाएको छ । केफएको पहलमा रंगशाला बनाउन दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले गत २७ मंसिरमा ४ करोड ८० लाखको टेण्डर आव्हान गरिसकेको छ ।